“डक्टर सा'व मलाई दाद भयो लौन अब के गर्ने ?”

10/09/2019 22:20

Image result for tinea cruris

एकदिन एक वरिष्ठ व्यक्ति 'ओपिडी'मा आए र खुसुक्क भने, 'डाक्टर सा'ब, दाद भएजस्तो छ, अप्ठ्यारो ठाउँमा चिलाएर सुत्नैसकेको छैन, लाजैमर्दो भईसक्यो लौ न के गर्ने ?' नभन्दै विगत ६ महिनादेखि एक किसिमको ढुसी (दाद)ले उनको पुरै शरीरभरी डेरा जमाइसकेको रहेछ । पेशाले उच्च ओहोदामा पुगिसकेका ती व्यक्तिले उपचारका नाउँमा धेरै रकम खर्च गरिसकेका रहेछन् । तैपनि उचित उपचारको अभावका कारण निको नभएर  धेरै दुःख पाएका रहेछन । यो त एउटा प्रतिनीधि उदाहरण मात्र हो । यसरी दादको समस्याले धेरैलाई सताइरहेको हुन्छ ।   

दादलाई कसैले दाज, दिनाउ, दिनाई भन्ने गरेपनि  र अंग्रेजीमा 'रिंगवोर्म' (Ringworm) भनिन्छ ।  यसलाई मेडिकल भाषामा 'टिनिया' (tinea)  नामले चिनिन्छ ।  सबै उमेरका व्यक्तिलाई  यो समस्याले पीडा दिने गरेको पाइन्छ । दादको समस्या विशेषतः छालारोगको विभागमा आउने दुई तिहाई सम्मका बिरामीको टाउको दुखाई बनिरहेको पाइन्छ ।  

के हो त दाद वा 'रिंगवोर्म' ? 

यो एक किसिमको ढुसी, 'डर्माटोफाइट' (dermatophyte)  छालाको संक्रमणलाई ढुसी (दाद) भनिन्छ । धेरैजसो यो 'रिंग' आकारको भएकोले यसलाई 'रिंगवोर्म' पनि भनिएको हो । यसले हाम्रो शरीरको धेरै गुम्सिएर रहने भाग जस्त तिघ्राको काप, काखीमुनी, स्तनको मुनिपट्टिको भाग लगायत शरीरका अन्य त्यस्तै ठाउँहरुमा असर गर्ने गर्दछ ।  यसले छालामात्रै नभएर रौँ  तथा नङलाई पनि सजिलै असर गर्न सक्छ। 

के कारणले हुन्छ दाद ? 

यो संक्रमित व्यक्तिबाट जो कोहिलाई पनि सजिलै सर्न सक्छ ।  संक्रमित व्यक्तिको लत्ताकपडा, जुत्ता चप्पलको प्रयोगबाट पनि सर्न सक्छ । संक्रमित घरपालुवा जनावरको सम्पर्कबाट वा ढुसी भएको ठाउँजस्तै खेतबारी, पौडीपोखरी, चौर, बगैचा, जिमखाना तथा अन्य ठाउँमा खाली खुट्टा हिडेमा पनि सर्न सक्छ । विशेषत : गर्मी र वर्षातको समयमा यो रोगका संक्रमितहरु धेरे हुन्छन् ।  तराईका जिल्लाहरुमा दादका संक्रमित बढी हुने गरेपनि अत्याधिक रुपमा देखिने गरेकाले  यो आम समस्याका रुपमा देखिदै आएको छ । अधिक पसिना आउने व्यक्तिहरु, सरसफाईमा ध्यान नदिने तथा रोगसँग लड्न सक्ने क्षमता ह्रास भएका व्यक्तिहरुमा देखिने गर्छ ।  

दादका लक्षणहरु  

छालाको दाद धेरैनै चिलाउने हुन्छ । यो शरीरको काप कापमा र अन्य भागमा गोलो 'रिंग' जस्तै आकारमा बढ्दै जाने खालाको रातो या फुस्रो रंगको कत्ले  घाऊजस्तो भएर सुरु हुन सक्छ । कहिलेकाँही  औंलाको कापमा हिलोले खाएको जस्तो चिलाउने घाऊपनि देखिन्छ र फरक खालका पीप भरिएको घाऊमा पनि दाद देखिने सम्भावना हुन्छ ।  ढुसीले नङको संक्रमण गरेमा नङ बाक्लो हुने, रंग परिवर्तन हुने वा टुक्रा परेर झर्ने हुन्छ । टाउकोको कपालमा संक्रमण भएमा कपाल आफै झर्ने वा सजिलै उखेलिने तथा कपालमा चायाँ बढ्दै गइ घाउपनि हुनसक्छ । 

दाद निको पार्ने उपायहरु  

  1. दादको लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई चर्मरोगसम्बन्धि तालिमप्राप्त चिकित्सक वा विशेषज्ञको सल्लाह बमोजिम औषधी  उपचार गर्नुपर्छ । 
  2. खाने चक्की, क्याप्सुल,  मल्हम, पाउडर, स्याम्पु वा साबुन दादको उपचारमा प्रयोग हुने औषधिहरु हुन । 
  3. चिकित्सकको सल्लाह नलिइ  औषधी प्रयोग गर्नुहुँदैन । यदि गलत औषधी प्रयोग गरियो भने दाद भनै पुरै शरीरभरी फैलने खतरा हुन्छ । तसर्थ, समयमै उचित उपचार गराउनु नै बुद्धिमानी हुन्छ । 
  4. यो रोगबाट बच्न र पुन नहोस भन्नका लागि व्यक्तिगत सरसफाइमा ध्यान पुर्याउनु आवश्यक हुन्छ ।   
  5. अरुले प्रयोग गरिसकेका कपडा, जुत्ता प्रयोग हुँदैन । 
  6. गुम्सिने खालका वस्त्रहरु लगाउनुहुँदैन ।   
  7. मोजा र भित्रि कट्टु दैनिक रुपमा परिवर्तन गर्नुपर्छ ।  
  8. खुट्टामा दाद छ भने पहिला मोजा लगाएपछि मात्र अन्य कपडा लगाउनुपर्छ ।  
  9. सकेसम्म खाली खुट्टा हिड्नु हुदैन । 
  10. खेलकुद वा व्ययाम पछि सफा पानीले नुहाउने गर्दा पनि दादको संक्रमणबाट जोगिन सकिन्छ ।   
  11. स्विमिङ पुलमा पौडी खेलिसकेपछि पुन सफा पानीले राम्रोसँग नुहाउनु पर्छ । 
  12. नुहाइसकेपछि सफा र सुख्खा कपडाले शरीर सुख्खा हुनेगरि पुछ्नु पर्दछ ।  
  13. घरपालुवा जनावरहरुलाई सफा सुघ्घर राख्नुहोस र कुनै समस्या देखिएमा भेटनरी डाक्टरबाट उपचार गराउनुहोस ।  

यी उपायहरु अवलम्बन गर्ने हो भने दादको समस्याबाट मुक्त रहन सकिन्छ ।

Back

 

 

conter12

 

Contact

Dr Vikash Paudel
Department of Dermatology
Patan Academy of Health Sciences, Lagankhel
Nepal

9779849948600

© 2020 All rights reserved. A Divyata creation.

Create a free websiteWebnode