के कपाल झरेर हैरान हुनुहुन्छ ?

10/09/2019 22:12

कपाल (रौँ) स्तनधारी जीवको पहिचान हो l यो केराटिन नामको प्रोटिनले बनेको भएपनि हरेक मानिसको कपालको बनोट फरक फरक हुन्छ l मानिसको शरिरमा कपालको छुट्टै महत्व छ l यसले मानिसको सौन्दर्यलाई  निखार्ने मात्र नभई शरीरलाई न्यानो प्रदान गर्ने, हानिकारक विकिरणबाट सुरक्षा गर्ने, रोग र पोषण र हर्मोनको स्थिति जनाउने लगायत वैज्ञानिक लिङ्ग पहिचान, बिधिबिज्ञानबाट व्यक्ति पहिचान, जाति पहिचान आदिमा मद्दत पुर्याउछ l कपालसंग हाम्रो सामाजिक, सांस्कृतिक, आर्थिक नाता गासिएको छ l महिलाहरुले लामो कपाल राख्ने र पुरुषहरुले धर्म अनुसार मुन्डन गर्ने पुरातन समयदेखि चलिआएको चलन आजसम्म पनि विद्यमान छ l आजकाल कपाल सौन्दर्यको  पर्याय नै भैसकेको छ l अहिलेको आर्थिक विश्वमा कपाल हटाउने र कपाल उमार्ने प्रक्रियामा करोडौ रकम खर्च भैरहेको छ l   

कपाल झर्नु अथवा तालु खुईलिनु सामान्य प्रक्रिया हो l प्राय सबै जनाको कपाल झरिरहेको हुन्छ र करिब १०० देखि १५० दैनिक रौँ झर्छ l अझ नुहाएको दिन, स्याम्पु गरेको समयमा दुइ गुना सम्म झर्छ l असामान्य रुपमा कपाल झरेको छ भने पक्कै त्यसको कारण र समाधान खोजिनु पर्छl

 

कपाल झर्ने कारणहरु

  • बंशानुगत: पुरुष र महिलामा हुने सबैभन्दा प्रमुख कारण
  • कुपोषण: पोषणको गडबडीले, विभिन्न प्रोटिन, कर्बोहाइड्रेट, भिटामिन र मिनरलको कमि
  • हर्मोन:  पुरुष र महिलाको शरिरमा हुने सेक्स हर्मोन, थाईराईड हर्मोन आदिमा गडबडी
  • शारीरिक अवस्था: रक्तअल्पता, गर्भवती अवस्था, गर्भपतन,  स्तनपान, अप्रेसन पछि,
  • तनाब: शारीरिक तथा मानसिक तनाब
  • कपालका र छालाका रोगहरु: चाया, दाद, घाउखटिरा, छालाको क्षयरोग
  • औषधिहरु: हर्मोनहरु, केमोथेरापी, रेडियोथेरापी
  • चोटपटक
  • दीर्घरोग तथा क्यान्सर

तालु खुइलिनु धेरै मानिसको लागि चिन्ता को बिषय हो l पुरुषमा मात्र नभई महिलामा पनि तालु खुइलिने गर्दछ l यसरि तालु खुइलिदा पुरुष र महिलामा फरक तरिकाले कपाल झर्छl खत बस्ने र खत नबस्ने गरि दुई किसिमले कपाल झर्ने हुन्छ l वंशानुगत तरिकाले कपाल झाने भनेको आफ्नो दाजुभाइ, दिदीबहिनी, बुवा, हजुरबुवाहरुको कपाल झर्ने संग सम्बन्धित छ l कपाल झर्ने जीन (Gene) पुस्तापुस्ता देखि हस्तान्तरण हुदै आएको हुन्छ l

कुपोषणको कारणले गर्दा शरीरमा विभिन्न पौष्टिक तत्वहरुको कमी हुन्छ र यसले पनि कपाल झर्छl  धेरै जस्तो यो बच्चा, बृद्ध र दीर्घरोगीहरुमा हुन्छ l हर्मोनको कारणले पनि कपाल झर्ने गर्छl सेक्स हर्मोन र  थाइराइड हर्मोनको कारणले कपाल धेरै आउने र झर्ने दुबै हुनसक्छ l विभिन्न शारीरिक अवस्थामा पनि कपाल झर्ने हुन्छl गर्भवती हुँदा, बच्चालाई स्तनपान गराउदा,  रक्ताअल्पता हुँदा, कुनै पनि कारणले थला पर्दा, बिरामी हुँदा वा कुनै अप्रेसनपछि पनि कपाल झर्न सक्छl यतिमात्र नभई कुनै पनि कारणले मानसिक तथा शारीरिक तनाब हुँदा पनि पनि कपाल झर्छl

यति मात्र नभई कपाल झर्ने कारण कपाल र छालाको आफ्नै रोगकै कारणले पनि हुन्छl जस्तै चाया, ढुसीदाद, एक्जिमा, एलर्जी, घाऊ, खाटीरा, खोइलो, ठेउला, क्षयरोग, क्यान्सर आदिl बेस्सरी कसेर कपाल बाँध्यो भने, कपालमा विभिन्न केमिकल वा औषधिहरु को प्रयोगले, रंगाऊदा, कपाललाई स्ट्रेट गर्दा वा  धेरै चिसो वा तातो चीजले पनि कपाल चुडिन वा झर्न सक्छl कुनै औषधिहरु जस्तै खाने चक्की पिल्स, हर्मोन र क्यान्सरको औषधिहरुले पनि कपाल झार्न सक्छनl

रोकथाम तथा उपचारका उपायहरु

कपाल झर्दैमा आत्तिनु हुन्न l कपाल झर्ने रोगहरु  प्राय वंशानुगत हुन्छन् वा  शरीरको पोषण तथा हर्मोन कारणले हुन्छन् l त्यसैले सन्तुलित खानपानमा ध्यान दिने बानि गर्नुपर्छ/ जथाभावी  तथा अनाबस्यक औषधी  तथा चिजबिज नलाऊनु हुँदैन l कुनै पनि औषधि खादा वा प्रयोग गर्दा चिकित्सकको सल्लाह बिना खानु र लगाउनु हुँदैन l कुन कारण ले कपाल झरेको छ, त्यो पत्ता लगाएर उपचार गर्नुपर्छl जस्तो कि ढुसीदादले गर्दा कपाल झरेको छ भने त्यसको औषधि खाने, लगाउने वा कपाल धुने गर्ने l यसको  लागि चर्मरोग तथा कपालको बिशेषज्ञ चिकित्षकको सल्लाह लिनुपर्छl सबै रोगको लागि औषधिको जरुरत नहुन पनि सक्छ l रोग अनुसारको उपचार प्रक्रिया फरक फरक हुन्छl कुनै रोगको लागि छोटो समयको खाने र लगाउने औषधि हुन्छ भने कुनै लामो समय सम्म खाने र लगाउने हुनसक्छl अहिलेको आधिनिक युगमा विभिन्न अत्याधुनिक पध्दतीहरु कपाल उमार्न र हटाउन प्रयोग हुदै आइरहेका छन्l प्रकाश र लेजर पद्धति नया पिढिको बैज्ञानिक उपचार महँगो भएपनि यसको आकर्षण बढ्दै गैरहेको छl यति मात्रै नभई तालु खुईलिने समस्या को लागि कपाल रोप्ने प्रबिधी (Hair Transplant) पनि गर्न सकिन्छl  त्यसैले समयमा नै उचित परामर्श लिऊ र उपचार गरौँ
/

 

Back

 

 

conter12

 

Contact

Dr Vikash Paudel
Department of Dermatology
Patan Academy of Health Sciences, Lagankhel
Nepal

9779849948600

© 2020 All rights reserved. A Divyata creation.

Create a free websiteWebnode